गुणस्तरीय शिक्षा आजको आवश्यकता


Home  »  Uncategorized   »   गुणस्तरीय शिक्षा आजको आवश्यकता

सुजीता राई
नेपाली शिक्षक
प्रा.बि तह

आजको युग ज्ञान र प्रविधिको युग मानिन्छ । प्राविधिक ज्ञान हासिल गर्नु आजको समयमा अपरिहार्य नै भइसकेको छ । समय गतिशिल छ । समयको परिवर्तनसँगै व्यक्तिको शिक्षा आर्जन गर्ने शैलीमा पनि परिवर्तन हुँदै आएको छ ।
गुणस्तरीय शिक्षा भन्नाले काम लाग्ने र जीवन उपयोगी शिक्षा हो । शिक्षा किताबी ज्ञानमा मात्र सिमित रहनु हुँदैन यसले त व्यक्ति , समाज र राष्ट्रको अपेक्षा पूरा गर्नुपर्दछ । नेपाल सरकारले तोकिएको पाठ्यक्रमभन्दा पनि व्यापक र वृहत हुनुपर्दछ । आजभोलिको समयमा असल र गुणस्तरीय शिक्षा लिनु विद्यार्थीहरूका लागि अत्यन्त आवश्यक रहेको देखिन्छ । तर राम्रो र गुणस्तरीय शिक्षा लिन कडा परिश्रम र मिहिनेतबिना असल ज्ञान प्राप्त गर्छु भन्नु असम्भव नै देखिन्छ ।
राम्रो शिक्षा वा ज्ञान प्राप्त गर्न पढ्नु , लेख्नुका साथै विषयलाई पनि राम्ररी बुझ्ने प्रयत्न गर्दा त्यो शिक्षा दीर्घकालीन रहन्छ । हरेक विद्यार्थीहरूलाई पाठ्यक्रममा मात्र केन्द्रित नगराई उनीहरूको व्यवहार , सोचाई , स्वभाव र सिर्जनात्मक क्षमताका आधारमा जीवन उपयोगी नैतिक र व्यवहारिक शिक्षा दिनु नै गुणस्तरीय शिक्षा प्रदान गर्नु हो ।
असल शिक्षा वा ज्ञान व्यक्ति वा समाजको विकासका लागि आवश्यक छ । असल शिक्षा र ज्ञानको माध्यमबाट एउटा व्यक्तिलाई गुणी बनाउनु भनेको समाज विकासका लागि असल पृष्ठभूमि तयार गर्नु हो । समग्रमा भन्नुपर्दा हाम्रो शिक्षा व्यक्तिको विकासका साथसाथै समाजको उन्नति , प्रगति , परिवर्तन र विकासँग जोडिएको हुनुपर्दछ । शिक्षाबाट व्यक्तिको व्यक्तित्व , समाज र राष्ट्रको आवश्यकतालाई पूर्ण गर्न सक्ने ज्ञान प्रदान गराउनुपर्दछ । व्यक्तिको विकास र मानसिक विकास प्रदान गर्दै राम्रो र कुशल जीवनका लागि गुणस्तरीय शिक्षा आवश्यक पर्दछ । गुणस्तरीय शिक्षा त्यो शक्ति हो , जसले खराब शक्तिबाट टाढा गर्न र आत्मनिर्भर बनाउन अवसरहरू प्रदान गर्दछ ।
“गुणस्तरीय शिक्षा नै समाज समृद्धिको मेरुद्दण्ड हो ।” असल शिक्षा व्यक्तिलाई आन्तरिक र बाहिरी तागत प्रदान गर्न सबैभन्दा महत्वपूर्ण यन्त्र हो । त्यसैले आजको समयमा गुणस्तरीय शिक्षा अपरिहार्य रहेको देखिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *