नेपाली भाषाको विकास कसरी गर्ने ?


Home  »  Uncategorized   »   नेपाली भाषाको विकास कसरी गर्ने ?

इश्वरी पाण्डे
प्रा.बि. शिक्षक

नेपाली भाषा नेपालको प्रमुख भाषा हो । यो बहुसङ्ख्यक नेपालीहरुले बोल्ने भाषा हो । हुन त नेपालमा अरु थुप्रै भाषा बोलिन्छन् तर सम्पूर्ण नेपालीहरुका बीचमा सम्पर्क कायम गर्ने भाषा नेपाली हो । जीवन्त भाषाका रुपमा आफ्नै विशिष्ट सौन्दर्य र विशेषता बोकेको नेपाली केही वर्षयता चौतारीमा अलपत्र छोडिएको मादल जस्तो भएको छ , जसलाई जति वेला मन लाग्यो प्याट्ट पारिहाल्ने । यस्तो अभ्यासले नेपाली भाषाको हित गर्दैन भन्ने यथार्थप्रति प्राय ले हेक्का राखेको पाइँदैन । कुनै पनि समाजको परिचय उसको संस्कृतिले दिन्छ । यदि कुनै भाषा लोप भएर गए त्यस समाजको साहित्य र संस्कृति दुवै लोप भएर जान्छन् । अनि साहित्य र संस्कृति लोप भए समाजको कुनै अस्तित्व रहँदैन । अस्तित्व खोज्ने क्रममा त्यो समाज अन्य समाज र संस्कृतिमा विलिन हुन पुग्छ । संसारमा यस्ता धेरै समाज वा समुदाय छन् जसले आफ्नो भाषा,साहित्य र संस्कृतिको संरक्षण गर्न नसकेर विलिन भएका छन् अनि अन्य समाजसँग घोलिएका छन् ।
निकै दुःख कष्ट गरेर रोपी मलजलका साथ हुकाईएको बिरुवामा पालुवा, फूल र फल लाग्न संरक्षणको कठिनाइ भएजस्तै हाम्रा पुर्खाहरुले दुःख साथ हुर्काएर हामीलाई वर्तमानमा हस्तान्तरण गरेको नेपाली भाषालाई के कसरी संरक्षण र संम्बर्दन गर्दै जाने ? भन्ने बारेमा निकै चुनौतीहरु देखिन थालेका छन् । वि.सं २०६८ को जनगणनामा अनुसार १२३ वटा भाषाहरुको अस्तित्व देखिएको छ भने भाषाशास्त्रीहरुले नेपालमा १४० वटा भन्दा बढी भाषाहरु रहेको चर्चा गरेका छन् । एकातिर राष्ट्रिय भाषाहरुको संरक्षण र संवद्र्धनका लागि विशेष प्रयासको साथ अनुसन्धानहरु भइरहेका कारण नेपालमा बोलिने भाषाहरुको सङ्ख्या बद्दै गएको छ भने विद्यमान भाषाहरुका मातृभाषी वक्ताहरु कम हुदै र हराउदै गएका कारण धेरै भाषाहरु लोपोन्मुख अवस्थामा पुगेकाले तिनको संरक्षण कसरी गर्ने ? भन्ने विषयमा गम्भीर चुनौतीहरु देखापरेका छन् । यस सन्दर्भमा नेपालमा बोलिने अन्य भाषाहरुको समेत माध्यम भाषा बनेको नेपाली भाषाको विकास कसरी गर्ने ? भन्ने बारेमा चुनौती थपिनु अस्वभाविक होइन । त्यसैले नेपाली भाषाको विकास गर्नमा हामी नेपाली शिक्षकको तर्फबाट पनि व्यक्तिगत प्रयास गर्ने आवश्यक छ । यथार्थमा प्रत्येक शिक्षक आफ्नो विषय र आफ्नो कक्षामा विषयगत रुपमा जिम्मेवार र उतरदायी हुनैपर्छ । कतिपय मानिसहरुले बाह्र कक्षा पास गरेपछि युरोपतिर लाग्ने त हो नि । किन नेपाली पढ्नु प¥यो ? भन्ने सोचका कारण पनि नेपाली भाषा ओझेलमा परेको छ । कतिपय निजी विद्यालयले आफ्नो विद्यालय हाताभित्र नेपाली बोल्ने विद्यार्थीलाई जरिवाना तिराउने जस्ता जघन्य अपराध गरिरहेका हुन्छन् । त्यस्तै विद्यालय बाहिर पनि नेपाली बोल्दा सजाय पाइन्छ कि भन्ने भय रहिरहन्छ । यसको समाधानका लागि विषय शिक्षकले आफ्नो कक्षामा नेपाली विषयलाई कसरी विकसित गर्ने र गुणस्तरीय बनाउने भनेर चिन्तन गर्नु आवश्यक छ । यथासम्भव अङ्ग्रेजी शब्दको प्रयोगमा कमी ल्याएर , आफूले उच्चारण गरेको पाठ्यवस्तु सबै विद्यार्थीलाई पालैपालो पढ्न लगाएर ,पढिसकेको पाठलाई कक्षामा पालैपालो बोर्डमा लेख्न लगाएर, अभ्यासपुस्तिका नहेरीकन पालैपालो मौखिकरुपमा उत्तर दिने बानीको विकास गरेर, कुनै पुस्तक वा पत्रपत्रिका पढी आफ्ना मनमा लागेका कुरा उल्लेख गर्न प्रेरित गरेर शिक्षकले नेपाली भाषाको विकासमा योगदान दिन सक्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *