नेपाली भाषाको संक्षिप्त परिचय र महत्त्व


Home  »  Uncategorized   »   नेपाली भाषाको संक्षिप्त परिचय र महत्त्व

हिमा गिरी
नि.मा.बि शिक्षक

१. भाषा के हो ?
२. भाषा किन ?
३. भाषा कसका लागि ?
यी सन्दर्भहरूमा नेपाली भाषा
जो बोल्छ उसले मनको अन्तर भाव खोल्छ, अवस्य नै बोल्नुको खास कारण मनोअभिव्यक्ति श्रव्य ध्वनिमा अरू समक्ष प्रेषण गर्नु हो, त्यसका खातिर त्यो ध्वनिमा अर्थगत बोधगम्यता हुनुपर्छ । अर्थगत बोधगम्यता हुने हैसियत भएको श्रव्य ध्वनि भाषा हो । त्यसका पनि औपचारिक वा अनौपचारिक, कथ्य वा लेख्य, मानक वा अमानक, भाषा वा भाषिका आदिजस्ता स्वरूपमा अध्ययन – विश्लेषण गर्ने गरिएको छ ।
अझै भौगोलिक सीमा, जाति ,प्रजाति आदि अनेकन कारण जन्मिएका यस भूगोलका ६ हजारभन्दा बढी भाषाहरू आफ्नै लयमा विभिन्न स्थानमा मानव मनोभाव सम्प्रेषणको माध्यम भएर बसेका छन् । यिनै अवस्थितिमा १,४७,१८१ वर्ग किमिको सानो क्षेत्रफलभित्र पूर्वपश्चिम फैलिएर रहेको देश नेपाल र नेपाली जातिको साझा अभिव्यक्तिको माध्यम एवम् राष्ट्र भाषाको रूपमा जीवन्त भाषा छ, त्यो हो देवनागरी लिपिमा लेखिने नेपाली भाषा ।
नेपाली भाषा नेपालको राष्ट्र भाषा हो । नेपाल अधिराज्यको संविधानले नेपाली भाषालाई राष्ट्र भाषाको मान्यता दिएको छ । नेपालको सम्पूर्ण जनसङ्ख्याको ५० प्रतिशत नेपालीले नेपाली भाषालाई मातृभाषाका रुपमा बोल्छन् । नेपाली भाषा साहित्यिक दृष्टिले पनि निकै समृद्ध छ । नेपाली साहित्य, विभिन्न क्षेत्रका पुस्तक, चलचित्र र पत्रपत्रिका पनि नेपाली भाषामा नै छापिने गरेका छन् ।
वास्तवमा भन्ने हो भने नेपाली भाषा नेपालीहरूको आत्मा हो, ढुकढुकी हो । सम्पूर्ण नेपालीहरूको सम्पर्क भाषा नेपाली भाषा हो । विश्वका २३ ओटा मुलुकमा नेपाली भाषा सञ्चार माध्यमको रुपमा विकास भएको छ । विश्वका ३९ मुलुकमा नेपाली भाषाको पठनपाठन सुरु भएको छ । नेपाली भाषा सम्पूर्ण राष्ट्र भाषाको सम्पर्क भाषा हो । यसबाट पनि नेपाली भाषाको महत्त्व पुष्टि हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *